काठमाडौं, १७ असोज । रुकुम पश्चिम मुसिकोट नगरपालिकाको वडा नम्बर ७, साँखमा रहेको ठुलीदह प्रचारप्रसारको अभाबमा ओझेलमा परेको छ ।
जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिकामै राम्रो पर्यटकीय क्षेत्र भएपनि त्यसको प्रवद्र्धन र प्रचारप्रसार हुन नसकेपछि ओझेलमा परेको हो । मध्यपहाडि लोकमार्गको नजिकै पर्ने जंगल छेउमा रहेको ठुली दह एकान्त जंगल र डाँडाँमा रहेका कारण थप आर्कषक छ । ठुली दह सगै त्यसवरपर अन्य साना ठुला दहहरु समेत रहेका छन् ।
पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपुर्ण यसठाउँलाई प्रदेश तथा केन्द्र सरकारको पनि ध्यान आर्कषण गर्न पहल शुरु भएपनि आवश्यक बजेट अभाबका कारण सोचेजस्तो प्रचारप्रसार गर्न नसकिएको वडाअध्यक्ष हिमबहादुर पाण्डेले बताउछन् । स्यानी दहको छेउ र ठूलीदह माथीको लेकमा हरेक मंसिरे र फागु पूर्णिमाको दिन बिशेष पूजाआजा समेत हुदै आएको छ ।
जंगलको बीचमा रहेका यी दहहरुले धार्मिक आस्थाका बोकेको स्थानीयहरु बताउछन । ठुलीदहको छेउमा रहेको मन्दिरमा पूजाआजा गर्दा अनिष्ट हुनबाट जोगिने, अनावृष्टि नहुने विश्वास रहेको छ । चालु आर्थिक वर्षमा मुसीकोट नगरपालिकाले छिप्री र स्यानी दहको बीचमा मन्दिर बनाउन एक लाख रुपैयाँ बजेट छुट्याइएको र थप प्रचारप्रसार र संरक्षणका लागि सर्भे पनि गरिएको जनाईएको छ ।