काठमाडौं, १६ असोज । वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज आठौ दिन आज सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गरेका छन् ।
भाद्र शुक्ल पूर्णिमादेखि सुरुहुने पितृ पक्ष आश्विन कृष्ण अमावश्यासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।