काठमाडौं, १५ असोज । वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज सातौं दिन, सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गर्दै छन् ।
१६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।
वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व रहेको शास्त्रमा वर्णन गरिएको छ । शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्धभर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ ।